FAQs Complain Problems

गाउँपालिकाको परिचय

देवानगञ्ज गाउँपालिका नेपालको संघीय संरचना अनुसार कोशी प्रदेश अन्तर्गत पर्ने एक स्थानीय तह  हो । साविकका राजगञ्ज सिनुवारी, साहेवगञ्ज, कप्तानगञ्ज, मध्यहर्षाही र देवानगञ्ज गाउँ विकास समितिहरुको संयोजनबाट यो गाउँपालिकाको निर्माण भएको छ, यस गाउँपालिका अन्तर्गत ७ वटा वडाहरु रहेका छन । नेपालको ७५३ वटा स्थानीय तहहरुमध्ये सुनसरी जिल्लामा १२ वटा स्थानीय तहहरु रहेका छन, जसमध्ये देवानगञ्ज गाउँपालिका पनि एक हो, यो गाउँपालिकामा मेहता (कुशवाहा), यादव, मुसलमान, गडेरी, मुसहर, उराँव, धानुक, मलाह, वाँतर, तत्मा, पासवान, सुडी, थारु, तेली, नेवार लगायत करिव ४५ जातजातीको बसोवास रहेको छ । नेपालमा सबैभन्दा बढी मेहता(कुशवाहा) जातीको जनसंख्या रहेको स्थानीय तहहरुमध्ये एक हो । ५३.५६ बर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकामा राष्ट्रिय जनगणना २०७८ अनुसार ३९,३६७ जना जनसंख्या रहेको छ । यो गाउँपालिकामा करिव १० वटा भाषा बोल्ने गरिएको पाईन्छ भने यहाँ मुख्य रुपमा हिन्दु र त्यसपछि ईस्लाम धर्मावलम्बीहरुको बाहुल्यता रहेको छ । यो गाउँपालिकाको पूर्वमा बर्जु गाउँपालिका, दक्षिणमा भारतको विहार राज्यको अररिया  जिल्ला, उतरमा हरिनगर गाउँपालिका तथा पूर्व उतरमा गढी गाउँपालिका रहेको छ । विश्व मानचित्रमा २६0२७’N उतरी अक्षांस देखि २६o४५’ N उतरी अक्षांश सम्म र ८७०८‘N पुर्वी देशान्तर देखि ८७१४’N पुर्वी देशान्तर सम्मको अवस्थितिमा फैलिएर रहेको छ । सुनसरी जिल्लाको सुदुर दक्षिणमा रहेको यो गाउँपालिका कोशी प्रदेशको राजधानी विराटनगरदेखि १३ किलोमिटर पश्चिममा पर्दछ भने यस गाउँपालिकाको दक्षिणी सिमानाबाट भारतको फुलकाहा बजार २ किलोमिटर दक्षिणतिर अवस्थित छ । सुनसरी  जिल्लाको सदरमुकाम ईनरुवा २५ किलोमिटर उतरतर्फ देवानगञ्जबाट कौवाखोज सडकले जोड्दछ । कृषिको एक उर्वर भुमिको रुपमा परिचित यस गाउँपालिकामा ९० प्रतिशत नागरिकहरु कृषि पेशामा संलग्न रहेका छन । यहाँका मुख्य कृषि उब्जनीमा धान,मकै ,उखु,सनपाट,केरा तथा तरकारी बालीहरु पर्दछन । कृषिमा आश्रितहरुका लागि मलखाद विउविजन तथा सिँचाइको अभाव रहेपनि स्थानीय सरकारले सकेसम्म मलखाद तथा विउविजन को प्रवन्ध मिलाउँदै आएको छ, किसानहरुलाई प्राङ्गारिक कृषि तर्फ प्रोत्साहन गर्न व्यापक रुपमा तालिमहरु सञ्चालन हुँदै आएका छन । किसानहरुद्धारा उत्पादित कृषि उपजहरुको सहज बजार पहुँचको लागि कृषि थोक तथा खुद्रा  बजारको व्यवस्थापन गरिएको छ । किसानहरुको सिचाईको समस्या सदाको लागि निर्मुल गरी कृषि क्षेत्रको क्रान्तिकारी रुपान्तरणको लागि नेपाल विद्युत प्राधिकरण र देवानगञ्ज गाउँपालिकाको साझेदारीमा आ.व. २०७९/०८० मा सुरु भई आ.व.२०८१/०८२ मा सम्पन्न हुने गरि करिव २५ करोड रकम वरावरको  सिचाइको लागि विद्युतिकरण आयोजना सञ्चालन भइरहेको छ । नेपाल र भारतविच विभिन्न मालसमानहरुको निकासी पैठारीलाई व्यवस्थित गर्न देवानगञ्ज –४,कप्तानगञ्जमा कौवाखोज छोटी भन्सार र देवानगञ्ज –५ ,साहेवगञ्जमा पनि छोटी भन्सारको व्यवस्था छ । यो क्षेत्रको शान्ति सुरक्षा कायम गर्न इलाका प्रहरी कार्यालय देवानगञ्ज तथा सशस्त्र प्रहरी वेसक्याक्प कप्तानगञ्ज सहित अन्य सुरक्षा पोष्टहरु ठाउँ ठाउँमा स्थापना गरिएका छन । यस गाउँपालिका र छिमेकी देश भारतबिच रोटीबेटीको असल  सम्बन्ध रहेपनि  खुला सिमानाका कारण केही प्रतिकुलताहरु छन तथापी गाउँपालिकाले लिएको विकासको गति, सूचना प्रविधिको उच्चतम प्रयोग, नागरिक सचेतिकरण तथा शान्ति सुरक्षाको राम्रो व्यवस्थापनले खुल्ला सिमानाका प्रतिकुलताहरुको न्युनिकरण हुँदै गएको छ । यस गाउँपालिकामा सांस्कृतिक विविधता भएपनि आपसी, सदभाव, सहिष्णुता, मेलमिलाप तथा भातृत्वको सम्बन्ध प्रगाढ रहुनु समाजको सुन्दर पक्ष हो । स्थानीय सरकारले सुचना प्रविधिको विकास तथा कृषिमा आमुल परिवर्तनको नीति लिएको हुँदा निकट भविश्यमा यो गाउँपालिका कृषि पर्यटनको एक आकर्षक गन्तव्यको रुपमा  विकास हुने निश्चित छ ।